Monday, September 6, 2010

Unicode post - फ्ल्यासब्याकमा दासढुंगा

काठमाडौ, भाद्र २१ - पूर्ण खोजबिना इतिहासकै गर्भमा सीमित 'दासढुंगा हत्याकाण्ड' १७ वर्षपछि फ्ल्यासब्याकमा फर्केको छ । चितवनको दासढुंगानजिक त्रिशूली नदीमा जिप दुर्घटनामा परी ज्यान गुमाएका एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको विषयलाई लिएर बनाइएको फिल्म 'दासढुंगा' शुक्रबारदेखि प्रदर्शनमा आएपछि बिस्तारै धुमिल बन्दै गएको घटनाले पुनः एकपटक झस्काइदिएको छ ।

'जनताको सूचना पाउने अधिकारका लागि बनाएको हुँ,' निर्देशक मनोज पण्डितले भनेझैं फिल्मले घटनाबारे दर्शकलाई सूचना दिनेछ । मसलेदार फिल्ममा जस्तो दर्शकलाई खुसी पार्न नायकका लागि सबै सम्भव र सबै जायजको सूत्रमा फिल्म हेर्न अभ्यस्त दर्शकका लागि फिल्म अपर्याप्त लाग्न सक्छ । तर 'दासढुंगा' यथार्थको डोरीमा बाँधिएको फिल्म हो ।

'सबै षड्यन्त्र अमरे (चालक) कै जस्तो लाग्छ, थाहा छैन उसलाई कसले किन्यो ?' फिल्मकी एक पात्रले बोलेको यो संवाद नै फिल्मको पेटबोली मान्न सकिन्छ । घटनाको अघिल्लो रात अर्थात् २०५० भदौ २ गते एमाले कार्यकर्ता हरि पाण्डेकी पत्नीले खाना खुवाइवरी बिदा गर्नुअघि नेताद्वयका चालक अमर लामाले देखाएका गतिविधिले उनी माथिको निचोडमा पुगेकी हुन् ।

दुर्घटना षड्यन्त्रपूर्ण थियो वा थिएन भन्नेबारे फिल्म तटस्थ बस्न खोजेको छ । निर्देशक पण्डितले नै तयार पारेको फिल्मको स्त्रिmप्ट घटनाको छानबिन गर्न बनाइएको केपी ओली संयोजकत्वको आयोगलगायत त्रिलोकप्रताप राना, पद्मरत्न तुलाधर र प्रचण्डलाल अनिलको संयोजकत्वमा गठित आयोगले तयार पारेका प्रतिवेदनमा आधारित छ ।

सवा २ घन्टा लामो उक्त फिल्मले प्रतिवेदनको आकर्षक र यथार्थपरक दृश्य तयार पारेर घटनाको विस्तारित छानबिनका लागि दबाब सिर्जना मात्र गरेको छ । घटनाको डकुमेन्ट्री लाग्ने फिल्मबाट दर्शकले 'फैसला' वा दोषीमाथि सजायको अपेक्षा गर्नु अन्याय हुन सक्छ । फिल्म मसलेदारभन्दा माथि उठेर फरक शैलीमा बनाउन खोजिएको छ ।

फिल्मका अधिकांश पात्र वास्तविक चरित्रका भए पनि कथाको सूत्रपात मुख्य पात्र किरण कुँवर (अनुप बराल) लाई भने फिक्सनाइज गरिएको छ । सरकारकै गुप्तचर विभागका कर्मचारीले घटनाका बारेमा गरेको अनुसन्धानबाटै फिल्मको कथा बगेको छ । अनुसन्धानकै क्रममा उसले पाएका प्रत्यक्षदर्शीका भनाइ, चालकको बाझिएको अभिव्यक्ति र विवादस्पद क्रियाकलापले फिल्म हेर्ने दर्शकलाई घटना षड्यन्त्रमूलक नै हो भन्ने निचोडमा पुर्‍याउँछ । त्यसमा पनि फिल्मले दुर्घटनाको वरिपरि अपरिचित र असान्दर्भिक विदेशी मूलका व्यक्तिको उपस्थितिले यसलाई विदेशी हातसम्मको संकेत गरेर छोडेको छ ।

प्रायः मुख्य भूमिकामा नाट्य कलाकारको बर्चस्व रहेको 'दासढुंगा' मा दयाहाङ राईले चालक अमर लामाको भूमिका निभाएका छन् । राईको अभिनयले पनि षड्यन्त्रको छनक दिएको भान हुन्छ । घटनाको एक मात्र जीवित व्यक्ति उनले छानबिन क्रममा अकमकाई अकमकाई दिएका वक्तव्य, मुख सुकेर पानी पिएको जस्ता क्रियाकलापले रहस्यमयी बनाएको छ ।

अर्का नाट्य कलाकार सौगात मल्लको उपस्थितिले फिल्मलाई सनसनी बनाइदिएको छ । उनको अभिनयले दर्शकलाई नै सिरिङ्ग पार्ने तागत राख्छ । अनुपको अनुसन्धानकर्ता, पति, शिक्षक र सिन्ट्रोफेनिया रोगी (जो काल्पनामा हराउने) जस्ता विविध भूमिका गरेको काम तारिफयोग्य छ तर उनकी पत्नीको भूमिकामा देखिएकी सञ्चिता लुइँटेल अरू पात्रका छायामा परेकी छन् । अर्कैको डबिङमा उनको अभिनय कामचलाउ छ । विशेष गरी पतिलाई केही व्यक्तिले आँखैअगाडि मार्न खोज्दा चुपचाप देखिने उनको प्रतिक्रिया फिक्का छ ।

प्रदर्शन हुनुअगावै चलचित्र विकास बोर्डबाट वर्षको विशेष फिल्मको सम्मान, बोर्डले नै दिएको राष्ट्रिय अवार्डमा जुरी अवार्डदेखि अभिनेता, सह-अभिनेता र सम्पादकमा अवार्ड पाएको 'दासढुंगा' खोटरहित भने छैन ।

अन्तर्राष्ट्रियजगत्कै ध्यानाकर्षण गराएको 'दासढुंगा हत्याकाण्ड' को छानबिनका लागि राष्ट्रिय अनुसन्धानका अधिकारीले एउटै व्यक्तिलाई सबै जिम्मेवारी दिइनु, जोकोही अपरिचित पनि घरसम्म अझ अनुसन्धानकर्ताकै कोठासम्म पुग्ने पहुँच राख्नु वास्तविकताबाहिर लाग्छ ।

राष्ट्रिय अनुसन्धान प्रमुख किरणको घरमा आउँदा उसकै पत्नीबाट आफ्नो पेसा लुकाएका भए पनि पछि 'दासढुंगा' को केसका बारेमा गरेको कुराकानी गोप्य नलाग्नुले केही हल्का बनाएको छ । त्यसैगरी अनुसन्धानकै क्रममा किरणले प्रत्यक्षदर्शीसँग गरेको कुराकानी वास्तविकताको नजिक लैजान खोज्दा दृश्यमा खास समस्या नभए पनि संवाद कहीँ कतै अस्पष्ट लाग्छ । तर फिल्मको नारायण जीसीको पाश्र्वसंगीत भने परिस्थिति अनुकूल बनेको छ ।

फिल्ममा सौगातको प्रवेश शंकास्पद छ । हत्याराको छविमा देखिएको उसलाई अनुपले चिने/नचिनेको खुलाइएको छैन । आफ्नो ज्यानको खतरा छ भन्ने जान्दाजान्दै पनि एक्लै उसले भनेको ठाउँमा भेट्न पुग्नु र राष्ट्रियताका बारेमा लामो बहस गर्नु केही हजम गर्न गाह्रो हुने दृश्य हुन सक्छन् ।

फरक धारमा अपिल विष्ट निर्मित फिल्म वास्तविक घटनालाई उत्कृष्ट ढंगले उठाउन सफल भने भएको छ । निमेष श्रेष्ठको सम्पादन उत्कृष्ट त छ नै, छायांकनमा पुरुषोत्तम प्रधान र दीपक बज्राचार्यले चलाएको क्यामेराले दृश्यलाई विश्वसनीय बनाएको छ । घटनाका बारे बयान दिने अधिकांश पात्र काल्पनिक भए पनि उनीहरूको प्रस्तुतिले त्यसो भन्दैन ।

फिल्ममा भएको एउटै मात्र गीत सत्यराज आचार्यले गाएको 'मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै'छ, देशभक्त छोरो मर्दा देश रुँदोरै'छ...' ले दर्शकलाई भावनात्मक बनाउन सक्छ । फिल्म रमाइलोका लागि भन्दा पनि जानकारीको उद्देश्यले जानेका लागि उपलब्धिमूलक हुने निश्चित छ ।

No comments:

Post a Comment